हाम्रो देशमा अहिले ग्रामिण क्षेत्र खाली हुन थालेका छन् । नागरिकहरु विस्तारै सुविधा सम्पन्न क्षेत्रमा बसाइसराई गर्दा ग्रामिण क्षेत्र खाली हुँदै गएका छन् । सोही कारण ग्रामिण क्षेत्रमा हाम्रा उर्वरभूमीहरु जंगलमा परिणत भएका छन् र सोही कारण पनि जंगली जनावरहरुको संख्या बढ्दै गएको छ । जङ्गली जनावरका कारण अहिले नागरिकले हैरानी खेप्दै आएका छन् । दोलखामा अहिले जंगली भालुको आतंकबाट नागरिकले त्रासमा बाच्नु परेको छ ।
दोलखाको बैतेश्वर गाउँपालिका–३ मा भालुको आक्रमण बढिरहेको भन्दै उनीहरूले प्रशासनलाई गुहारेका थिए । सोही कारण स्थानीयको दैनिकी त्रासमा गुज्रिरहेका बेला प्रशासनले बुधबारदेखि विशेष गस्ती टोली खटाएको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पालिका अध्यक्षसहितको समन्वय बैठकपछि जंगल क्षेत्र अनुगमन तथा जोखिम मूल्यांकन गर्ने निर्णय भए पश्चात बन रेन्जरसहितको गस्ती गरिएको छ । यो सकारात्मक कदम हो, तर यो समस्या केवल तत्कालका लागि मात्र हो । गस्तीले दीगो समाधान दिने छैन । नागरिकले डरको अनुभूति गरेको बेला यसले केही समाधान त गर्ला, तर दीगो समाधान भने पक्कै हैन ।
असोज महिनामा बैतेश्वर गाउँपालिकामा टेकबहादुर तामाङको भालुको आक्रमणमा ज्यान गएको घटना, कात्तिकमा जिरीका इन्द्र विक र अन्तकुमारी विक घाइते भएको तथ्य—यी सबैले भालुको कारण जोखिमपूर्ण बन्दै गएको छ भन्ने देखाउँछन् । दैनिक कामकाजका लागि घाँस, दाउरा वा पानीका लागि जंगल जान पनि नागरिकले अहिले डराउनु परेको छ । अहिले गरिएको यो अभियानले भालु नियन्त्रण सम्भव हुँदैन । यो दीर्घकालिन उपाय पनि हैन । वन्यजन्तुको बासस्थान बिग्रिँदै जानु, जंगलको मात्रा बढ्नु, जंगली जनावर मानवप्रति नकारात्मक हुनु जस्ता विविध कारण रहेका छन् । यसलाई हामी विभिन्न तरिकाले निराकरण गर्न सकेनौँ भने यसले भोलिका दिनमा झन जोखिम बढाउने देखिन्छ । यो घटनालाई मात्र नभएर दोलखाको समग्र क्षेत्रमा भालुको आतंक रोक्न सरोकारवाला निकाय लाग्नु जरुरी रहेको छ । त्यसका लागि स्थानीय स्तरमा वन कार्यालय, प्रहरी, जनप्रतिनिधि र समुदायबीचको संयुक्त प्रयास आवश्यक छ । बैतेश्वरलगायत दोलखामा फैलिएको भालु आतंक रोक्न दीर्घकालीन रणनीति बनाई नागरिकलाई भयमुक्त वातावरण बनाउनु अहिलेको आवश्यकता हो ।