सडक दुर्घटनाको भयावहता – नेपालमा सडक दुर्घटनाका कारण हरेक वर्ष हजारौँ नागरिक घाइते र हजारौँले ज्यान गुमाइरहेका छन्; विगत ८ वर्षमै करिब १९ हजार मृत्युसहित १ लाखभन्दा बढी घाइते भएका छन्।
मुख्य कारणहरू – गुणस्तरहीन सडक, ट्राफिक नियमको अवहेलना, मादक पदार्थ सेवन, चालकलाई तालिमको कमी, क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति, सवारी साधनको मर्मतसम्भार नहुने र सिन्डिकेट प्रणालीजस्ता कारण दुर्घटना बढेका छन्।
साझा जिम्मेवारी – दुर्घटना न्यूनीकरणका लागि सरकार र नागरिक दुवै जिम्मेवार छन्; समयमै सुधारात्मक उपाय र सचेतना नअपनाएमा हरेक वर्ष अझै धेरै नागरिकले जीवन गुमाउनुपर्ने खतरा रहिरहनेछ।
सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या हरेक वर्ष बढ्दो छ। वर्षेनी धेरै नागरिकले दुर्घटनाकै कारण आफ्नो जीवन गुमाउने गरेका छन्। यसै हप्तामा मात्रै दोलखामा क्याम्पस सभापति सहित दुईजना युवकले ज्यान गुमाएका छन् । त्यस्तै, भक्तपुरमा स्कुटरमा चढेका २२ र २३ वर्षका युवकले दुर्घटनाकै कारण ज्यान गुमाएका छन् भने चितवनमा भएको सवारी दुर्घटनामा अर्का २८ वर्षे डाक्टरको ज्यान गएको छ ।
सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ । यदि यसलाई विश्लेषण गर्ने हो भने विगत आठ वर्षमा मात्र नेपालमा करिब १९ हजार जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाएका छन् भने करिब १ लाख नागरिक घाइते भएका छन्। तथापि, समाधानको उपाय नअपनाइए यसरी नै नागरिकले सडक दुर्घटनाकै कारण ज्यान गुमाउने क्रम जारी रहनेछ ।
सडक दुर्घटना हुने कारण विविध छन्। गुणस्तरहीन सडक, ट्राफिक नियमको पालन नहुनु, मादक पदार्थ सेवन, लागूपदार्थको प्रयोग, सवारी चालकलाई आवश्यक तालिम नहुनु, र सवारी साधनको अवस्थाबारे अनभिज्ञता लगायतका कारणहरूले सडक दुर्घटना बढाउँछन्। हवाई दुर्घटना भएमा छानबिन समिति गठन गरेर कारण पत्ता लगाइन्छ, त्यसैगरी विभिन्न शक्तिमा रहेका अधिकारीहरू दुर्घटनामा परे भने छानबिन समिति बनाइन्छ। तर सर्वसाधारण नागरिकको ठूलो मात्रामा ज्यान गुम्दा पनि त्यसलाई गम्भीर रूपमा नलिए, भविष्यमा पनि नागरिकको ज्यान जोगाउन असम्भव हुनेछ ।
गाडीले क्षमताभन्दा बढी यात्रु राख्नु, चालकको मादक पदार्थ सेवन, सवारी साधनको मर्मतसम्भारको अभाव, र अझैसम्म सिन्डिकेट कायम हुनु सवारी दुर्घटनाका मुख्य कारण हुन्। त्यसैगरी, चालक आफैंको लापरवाहीले पनि दुर्घटनाहरू बढाउँछ ।
सडक दुर्घटना न्यूनीकरण गर्न हामी सबैले सचेतना अपनाउन आवश्यक छ । नत्र, यसैगरी हरेक वर्ष धेरै नागरिकहरुले सडक दुर्घटनाका कारण ज्यान गुमाउँदै जानेछन्।