चरिकोट (दीस)ः आफ्नो वडामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आफ्नै पार्टीका उम्मेदवारभन्दा एक मत बढी ल्याएपछि नेपाली कांग्रेस तामाकोशी गाउँपालिकाका पार्टी सचिव राजेन्द्र योञ्जनले पदबाट राजीनामा दिनु भएको छ । नैतिक जिम्मेवारी लिँदै उहाँले राजीनामा दिनु भएको हो ।
तामाकोशी गाउँपालिका–२ मा प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अजबाबु शिवाकोटीले ३४६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३४७ मत प्राप्त गर्नुभएको थियो । एक मतले पछि परेपछि योञ्जनले नैतिकताको आधारमा पार्टी सचिव पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको हो ।
योञ्जनले सामाजिक सञ्जालमार्फत राजीनामाको जानकारी गराउँदै आफ्नो वडामा यसअघि भएका अधिकांश निर्वाचनमा नेपाली कांग्रेसले विजय हासिल गर्दै आएको उल्लेख गर्नु भएको छ । यस पटक एक मतले पराजित भएपछि नैतिक जिम्मेवारी लिँदै पद त्याग गरेको उहाँको भनाइ रहेको छ ।