पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

दोलखामा निर्वाचन पूर्वतयारीबारे इन्सेकको सरोकारवालासँग छलफल

दीक्षण संवाददाता १९ फागुन २०८२, मङ्गलवार

चरिकोट (दीस) ः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वतयारी, आचारसंहिताको पालना तथा सुरक्षा प्रबन्धका विषयमा इन्सेकले दोलखाका सरोकारवालासँग छलफल गरेको छ। आइतबार इन्सेक टोलीले दोलखाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतसँग निर्वाचन सन्दर्भमा भेटवार्ता तथा अन्तरक्रिया गरेको हो।

छलफलका क्रममा मुख्य निर्वाचन अधिकृत एवं रामप्रसाद न्यौपानेले मतपत्र, मतदान स्थल तथा मतदाताको सुरक्षाका लागि विशेष तयारी गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार नियुक्तिपत्र वितरण, कर्मचारी खटनपटन लगायतका कार्यहरू फागुन १७ गतेसम्म सम्पन्न गरी सम्बन्धित मतदान स्थलमा पठाउने व्यवस्था मिलाइएको छ।

उहाँले माननीय गृहमन्त्री, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त, नेपाली सेनाका बलाधिकृत रथी, सहायक रथी, सशस्त्र प्रहरी महानिरीक्षक, नायब महानिरीक्षक, चारवटै सुरक्षा निकायका प्रदेश प्रमुख, प्रदेशका प्रमुख सचिव तथा निर्वाचन आयोगका पदाधिकारीहरूले ०८२ फागुन १५ गते दोलखाको सुरक्षा संवेदनशीलताका सम्बन्धमा निरीक्षण गरेको बताउनुभयो।

मुख्य निर्वाचन अधिकृत न्यौपानेले आचारसंहिता विपरीतका लिखित उजुरी प्राप्त नभएको उल्लेख गर्दै मौखिक उजुरीहरूमा तत्काल कारबाही गरी घटना दोहोरिन नदिन आचारसंहिता अनुगमन समितिका पदाधिकारीहरूलाई निर्देशन दिइएको जानकारी दिनुभयो।

त्यस्तै प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरेले राजनीतिक दलहरूलाई आचारसंहिता उल्लंघनमा होइन, यसको परिपालनामा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो। राजनीतिक दलहरूमा निर्वाचनमैत्री भावनाको चेतना नबढ्दासम्म स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न चुनौती कायम रहने उहाँको भनाइ थियो। उहाँले इन्सेकलाई राजनीतिक दलहरूलाई जिम्मेवार बनाउन अभियान सञ्चालन गर्न समेत आग्रह गर्नुभयो।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी मनोजकुमार लामाले जिल्लामा रहेका ९५ स्थायी र दुई अस्थायी गरी कुल ९७ मतदान स्थलमध्ये ५२ अति संवेदनशील, २८ संवेदनशील र १५ सामान्य प्रकृतिका रहेको जानकारी दिनुभयो। उहाँले भदौ २३ र २४ गतेका घटनापछि लुटिएका हतियार, फरार कैदीबन्दी तथा चुनावविरोधी पक्षका कारण सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने उल्लेख गर्दै एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार ती चुनौतीहरूको समाधान गरिने बताउनुभयो।

उक्त अनुगमन टोलीमा इन्सेक केन्द्रीय कार्यालय मानव अधिकार शिक्षा विभाग प्रमुख कृष्णप्रसाद नेपाल तथा इन्सेक बागमती प्रदेशका सहायक अधिकृत बरुण बस्यालको सहभागिता रहेको थियो। अनुगमन टोलीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ समेत वितरण गरेको जनाएको छ।

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु