चरिकोट (दीस) ः दोलखामा वामपन्थी शक्तिहरूको विरासतलाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा उम्मेदवार इन्जिनियर जगदिश खरेल विजयी हुनुभएको छ । शनिबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उहाँ विजयी हुनुभएको हो ।
अन्तिम मतपरिणामअनुसार परम्परागत शक्तिहरूको विरासतलाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खरेलले शानदार जित निकाल्नुभएको हो । खरेलले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै फराकिलो मतान्तरले पछि पार्दै विजय हासिल गर्नुभएको छ ।
अघिल्लो निर्वाचनमा पराजित भएका खरेलले दोस्रो पटकको प्रयासमै जित आफ्नो पक्षमा पार्न सफल हुनुभएको हो । उहाँ यसअघि भएको प्रतिनिधिसभा निर्वाचनमा विजयी हुन असफल हुनुभएको थियो ।
मतगणना सुरु भएदेखि नै अग्रता कायम राख्नुभएका खरेलले अन्तिम परिणामसम्म पनि सोही अग्रतालाई कायम राख्दै विजय हासिल गर्नुभएको हो । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार खरेलले ३२ हजार ३७६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गर्नुभएको छ । गुरुङ र खरेलबीच १४ हजार ९२७ मतान्तर रहेको छ ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विशाल खड्काले १३ हजार ६५ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएको छ भने नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २ सय ९८ मत प्राप्त गर्नुभएको छ ।
पाँचौँ स्थानमा रहेका उज्यालो नेपाल पार्टीका निमा दोर्जे लामाले १ हजार ६ सय ६३ मत प्राप्त गर्नुभएको छ भने छैटौँ स्थानमा रहेका राप्रपाका प्रविण कुमार थोकरले १ हजार १० मत प्राप्त गर्नुभएको छ ।त्यसैगरी श्रमसंस्कृति पार्टीका हेपबहादुर थामीले ३ सय ८१ मत, राष्ट्रिय परिवर्तन पार्टीका सुदर्शन कार्कीले ३ सय ५६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का राजकुमार लामिछानेले १ सय ६५ मत, मङ्गोल नेशनल अर्गानाइजेशनका कुमार तामाङले १ सय ३ मत, जनता समाजवादी पार्टीका गोपाल नेपालीले ६४ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका कमल खत्रीले ६० मत, नेपाल मजदुर किसान पार्टीकी विमला श्रेष्ठले ४० मत र आम जनता पार्टीका शुक्र तामाङले २४ मत प्राप्त गर्नुभएको छ ।
गणना भएको ८४ हजार २ सय ७५ मतमध्ये ४ हजार ४ सय ६० मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।