२० पुस, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा ३३ जना नयाँ सदस्य मनोनीत गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ऊर्जा क्षेत्रमा सक्रिय कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल तथा विवेकशील साझा पार्टीसहितको एकतापछि रास्वपाले केन्द्रीय समितिमा नयाँ अनुहारहरू थप गरेको हो ।
आइतबार दिउँसो र साँझ बसेको पार्टीको छुट्टाछुट्टै केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । विवेकशील साझा पार्टी परित्याग गरी रास्वपासँगको एकतामा समाहित भएका ७ जनालाई दिउँसोको बैठकबाट केन्द्रीय समितिमा मनोनीत गरिएको थियो । त्यसपछि साँझ सवा ७ बजे काठमाडौंको घण्टीघरमा पुनः बसेको बैठकले थप २६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
केन्द्रीय समितिमा मनोनीत हुनेहरूमा बालेन शाह, सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन् ।
यस्तै विवेकशील साझा पार्टीबाट समाहित भई केन्द्रीय समितिमा मनोनीत हुनेहरूमा समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् ।
पार्टी नेतृत्वले केन्द्रीय समिति विस्तारसँगै संगठन सुदृढीकरण, एकतापछिको समायोजन र वैकल्पिक राजनीतिक धारलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेको छ ।

.jpg)
.jpg)

.jpg)
.jpg)



