चरिकोट (दीस) ः मेलुङ गाउँपालिका २ बाँसबोटेमा उत्पादित अकबरे खुर्सानी जिरी लेकाली हाटघरमार्फत काठमाडौंसम्म पुगी बिक्री हुन थालेको छ । यहाँ उत्पादन भएको खोर्सानी राधजानी निर्यात हुन लागेको हो ।
४ रोपनी जमिनमा २,६०० बोट रोपेका कृषक सम्झना खड्का बुढाथोकीका अनुसार, असारदेखि पाक्न थालेको खुर्सानी कात्तिकसम्म फल्ने गर्छ। अहिलेको बजार मूल्य प्रतिकेजी १८०÷२०० रुपैयाँ छ भने सुकाएर राखिएका खुर्सानीको मूल्य प्रतिकेजी १,५०० रुपैयाँसम्म पुग्छ । सोही कारण यहाँका कृषक खोर्सानी खेतीमा आकर्षित भएको उहाँको भनाई रहेको छ ।
यस गाउँपालिकाले हेफर नेपाल र सामुदायिक विकास मञ्च नेपालको साझेदारीमा करिब ३,५०० कृषकलाई व्यावसायिक कृषि अभ्यासमा लगाएको छ । नर्सरी, कृषि सामग्री र प्राविधिक सहयोगमार्फत किसानलाई व्यवसायिक बनाइरहेको गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा गाउँपालिकाले १ करोड २० लाख रुपैयाँ छुट्याएर कृषि कार्यक्रम सञ्चालन गरेको थियो। वडा नं. २, ३, ४ र ५ का कृषि समूहले खुर्सानी तथा तरकारी खेतीमा व्यवसायिक रूपमा लागेका छन् ।