रामेछाप (दीस) ः वर्षासँगै रामेछाप विमानस्थल पछिल्लो समय सुनसान बनेको छ । पर्यटकीय सिजन अर्थात हिउँदमा चहलपहल हुने यो विमानस्थल हाल भने सुनसान बनेको हो । अहिले यहाँबाट नियमित उडान हुन नसक्दा यात्रुहरू मारमा परेका छन् । देशभरका अन्य विमानस्थलमा दशैं–तिहार नजिकिएसँगै टिकट बुकिङ खुला भएको भए पनि रामेछापका लागि भने अहिलेसम्म टिकट बुकिङ सुरु हुन सकेको छैन । प्रायः पर्यटकीय सिजनमा मात्र सोलुखुम्बुको लुक्ला उडान हुने गरेको यस विमानस्थलमा अहिले जहाज नचल्दा सुनसान देखिन्छ ।
पर्यटकीय समयमा सीता, तारा र समिट एयरका जहाजहरूले रामेछापबाट लुक्लासम्म दैनिक ६० देखि ६५ वटा उडान गर्ने गरेका छन् । सो समयमा विदेशी पर्यटकको घुँइचो लाग्ने विमानस्थलसँगै होटलहरूमा समेत चहलपहल हुने गरेको भए पनि हाल विदेशी पर्यटक नआएसँगै होटलसमेत सुनसान बनेका छन् ।
स्थानीय बासिन्दा वीरेन्द्र श्रेष्ठले केवल सिजनमा मात्र नभई अफ सिजनमा पनि नियमित उडान सञ्चालन गर्न सक्ने हो भने रामेछाप विमानस्थलले ठूलो फाइदा दिने धारणा राख्नु भयो । उहाँले भन्नुभयो, “सडकमार्गबाट काठमाडौँ पुग्न बिपी राजमार्गको १२५ किलोमिटर पार गर्नुपर्छ भने पुष्पलाल मार्ग हुँदै तामाकोशी–चरिकोट–मुडे हुँदै करिब २०० किलोमिटर यात्रा गर्नुपर्छ, त्यसैले हवाईमार्ग नै सहज हुन्छ । ”
गत असोज १२ गतेको बाढीले बिपी राजमार्ग र पुष्पलाल मार्गका धेरै खण्ड क्षतिग्रस्त बनाएपछि यी मार्गहरू जोखिमपूर्ण भएका छन् । यसैले स्थानीयवासी हवाई सेवा नियमित गरिनुपर्ने माग गर्दै आएका छन् ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नियमित उडानका लागि संघीय सांसदहरूसँगै पर्यटन मन्त्रालयमा ध्यानाकर्षण गराइएको र मन्त्रीले सकारात्मक आश्वासन दिएको तर हालसम्म कार्यान्वयनमा नआएको जानकारी दिनुभयो ।
पूर्वराज्यमन्त्री एवं संघीय सांसद पूर्णबहादुर तामाङले भने स्थानीयको मागअनुसार रामेछाप विमानस्थलबाट दशैंअगाडि नै नियमित उडान सुरु गर्न आफु विशेष पहलमा लागेको बताउनुभयो ।