कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी उपरीक्षक ज्ञान कुमार महतोले साइबर अपराधसम्बन्धी साक्षरता कक्षा सञ्चालन गर्नुभयो।
चरिकोट (दीस) — भीमेश्वर नगरपालिका–३, चरिकोट सातदोबाटोस्थित व्यवसायिक भवनमा बिहीवार “साइबर अपराध र डिजिटल बैंकिङ सचेतना कार्यक्रम” सम्पन्न भएको छ । कार्यक्रम जिल्ला प्रहरी कार्यालय दोलखा र सिन्धु विकास बैंकको संयुक्त आयोजनामा भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी भोला दाहालले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी उपरीक्षक ज्ञान कुमार महतोले साइबर अपराधसम्बन्धी साक्षरता कक्षा सञ्चालन गर्नुभयो। त्यस्तै, सिन्धु विकास बैंक चरिकोट शाखा प्रमुख मीन राज अवस्थीले डिजिटल बैंकिङसम्बन्धी सचेतनामूलक प्रस्तुति दिनुभयो ।
सो कार्यक्रममा गरुड दल गणका प्रमुख सेनानी, सशस्त्र प्रहरी बल गण नं. १८ का प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग चरिकोटका प्रमुख अनुसन्धान अधिकृतलगायत सुरक्षा निकायका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । आयोजक संस्थाहरूका अनुसार, कार्यक्रमको उद्देश्य साइबर अपराधबारे जनचेतना अभिवृद्धि गर्नुका साथै डिजिटल बैंकिङ प्रणालीको सुरक्षित प्रयोगबारे व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको हो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख,सुरक्षाकर्मी, जनप्रतिनिधि तथा स्थानीय गरी करिब १५० जना सहभागी भएका थिए ।