चरिकोट (दीस) ः राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल सँग दोलखाको समग्र विकासका विषयमा महत्वपूर्ण र सकारात्मक छलफल भएको बताउनु भएको छ ।
बुधबार सञ्चार मन्त्रालयको कार्यकक्षमा मन्त्रीसँग भएको भेटघाटका क्रममा रिजालले दोलखाको विकास सन्दर्भमा ध्यानाकर्षण गराउनु भएको उहाँको भनाइ छ । सो अवसरमा कालिञ्चोकको कुरी तथा अन्य दुर्गम क्षेत्रहरूमा लामो समयदेखि देखिँदै आएको टेलिफोन तथा इन्टरनेट सेवासम्बन्धी समस्याप्रति पनि विशेष ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी, दोलखा–कालिञ्चोक पर्यटन मार्ग (ग्रेटवाल), विश्वशान्ति बुद्धपार्क, हाटडाँडा कृषि सडकजस्ता दीर्घकालीन प्रभाव पार्ने परियोजनाहरूलाई स्थानीय विकास, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जनामा ‘गेम–चेञ्जर’ का रूपमा अघि बढाउन आवश्यक सहयोग तत्काल जुटाउनुपर्ने माग रिजालले राख्नु भएको छ । छलफलका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रीले राष्ट्रिय प्राथमिकतामा पर्ने सञ्चार पूर्वाधार विस्तारका योजनाहरूमा दोलखालाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक पहल गर्ने आश्वासन दिनु भएको जनाइएको छ ।