चरिकोट (दीस)ः पशुपति कन्या मन्दिर माविले आफ्नो ४० औँ स्थापना दिवस मनाएको छ । जिल्लाको एकमात्र छात्रा विद्यालयले सोमबार स्थापना दिवस मनाएको हो ।
स्थापना दिवस भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख मानन्धरले विद्यालय समय बाहेक पनि अध्ययनमा लाग्न विद्यार्थीहरूका लागि उचित वातावरण तयार गर्न अभिभावकहरूलाई आग्रह गर्नुभयो ।
यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले छात्रा विद्यालय भएकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि प्रस्ताव पेश गर्न विद्यालयलाई आग्रह गर्दै सो प्रस्ताव विद्यालयले पेश गरेमा नगरपालिकाको तर्फबाट पूर्ण सहयोग गर्ने आश्वासन दिनुभयो ।स्थापना दिवस समारोहमा विद्यालयलाई सहयोग गर्नुहुने सहयोगी दाताहरू, सक्रिय अभिभावकहरू, पूर्व शिक्षक, विद्यालय कर्मचारी, पूर्व विद्यार्थी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेश बस्नेतले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।