काठमाडौं, ३ पुस — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ। अदालतले जमानत र धरौटी रकम बुझाएपछि रिहा गर्न निर्देशन दिएको हो।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानतमा रिहा गर्न आदेश भएको छ। त्यससँगै अदालतले थप १ करोड रुपैयाँ धरौटी राख्नसमेत निर्देशन दिएको छ।
निर्धारित जमानत तथा धरौटी रकम बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन्।