काठमाडौँ (दीस) : दोलखाको बैतेश्वर गाउँपालिका–३ का युवा वैज्ञानिक डा. निरोज दाहाललाई ७५ हजार रुपैयाँ राशीको विज्ञान तथा प्रविधि युवा पुरस्कार–२०८२ प्रदान गरिएको छ। शनिबार काठमाडौँमा आयोजित नास्टको ४३औँ वार्षिकोत्सव समारोहमा डा. दाहालसहित पाँच जनालाई सो पुरस्कारबाट सम्मानित गरिएको हो। यस वर्षको पुरस्कार विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्रमाणपत्रसहित प्रदान गर्नुभएको थियो।
डा. दाहाल काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनमा अध्यापन गर्दै आउनुभएको छ। बैतेश्वर गाउँपालिकाका स्थायी बासिन्दा उहाँका विभिन्न अनुसन्धानात्मक जर्नलहरू प्रकाशित भइसकेका छन्। यस वर्ष नेपालभर छानिएका २० जना वैज्ञानिकमध्ये उहाँ पनि एक हुनुहुन्छ। ४९औँ प्राज्ञसभाले २०८२ सालमा विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ तथा संस्थाहरूलाई पुरस्कार प्रदान गरेको थियो।