दोलखा(दीस)ः जिल्लामा छुट्टाछुट्टै स्थानमा भएका दुई घटनामा परी दुई जनाको मृत्यु भएको छ।विगु गाउँपालिका–२ का आङ फुर्वा तामाङको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। आफूले चलाएको मोटरसाइकल अनियन्त्रित भई विगु–१ को छ्योतछ्योत बस्तीभन्दा माथि रहेको ठोङठोङ भीरबाट करिब १०० मिटर तल खसेको अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यस्तै, जिरी नगरपालिका–८ होसिङगाका ८२ वर्षीया वृद्धा रेवती खत्री मृत अवस्थामा फेला परेकी छन्। गत कार्तिक २६ गते घरबाट बैतेश्वर गाउँपालिका–३ माईती जान्छु भन्दै निस्किएकी उनी आज घरबाट करिब ५०० मिटर दक्षिणतर्फ खोल्मे खोलाको पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। अबेरसम्म माइत नपुगेपछि आफन्त तथा छिमेकीहरूले खोजी गरिरहेका थिए।