चरिकोट (दीस) ः देशव्यापी रूपमा सञ्चालन भइरहेको जनपरिचालन कार्यक्रममा अन्तर्गत नेकपा एमाले दोलखाले शनिबार सदरमुकाम चरिकोटमा बृहत् जन¥याली तथा सभाको आयोजना गरेको छ ।
सभाअघि एमालेले चरिकोटका मुख्य–मुख्य बजार क्षेत्रको परिक्रमा गर्दै ¥याली निकालेको थियो । जन¥यालीपछि ए–वान पार्टी प्यालेसमा भएको सभामा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा दोलखा इन्चार्ज पार्वत गुरुङले वर्तमान राजनीतिक संकटको समाधान केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेबाट मात्रै सम्भव हुने दाबी गर्नुभयो । उहाँले एमालेको पहिलो एजेन्डा संसद पुनःस्थापना रहेको स्पष्ट पार्नुभयो । जेन्जी नाममा बनेको सरकारले जेन्जीको वास्तविक प्रतिनिधित्व नै नगरेको उल्लेख गर्दै गुरुङले ‘जेनजी’ लाई आन्दोलनमा प्रयोग मात्र गरिएको आरोप लगाउनु भयो । साथै, विगतमा राज्यसत्तामा बसेर भ्रष्टाचार गरेका व्यक्तिहरू नै अहिले नयाँ सरकारको नेतृत्वमा रहेको उहाँको भनाइ थियो । संकटको अवस्थामा पार्टीका नेता–कार्यकर्ताले अझै एकजुट भएर काम गर्नुपर्ने पनि उहाँले आग्रह गर्नुभयो ।
त्यसैगरी नेकपा एमालेकी केन्द्रीय सदस्य सरस्वती बस्नेतले राष्ट्रियताका मुद्दामा प्रष्ट रूपमा बोलेको र जनहितकालागि काम गर्दै आएको भएकै कारण एमाले सरकारमाथि देशी–विदेशी षड्यन्त्र भएको बताउनुभयो । ‘राष्ट्रिय झण्डा बोकेर आन्दोलन गर्ने क्रममा घुसपैठ भएर निजी तथा सार्वजनिक सम्पति जलाइएको’ आरोप लगाउँदै उहाँले यस्ता व्यक्तिले देश विकास गर्न नसक्ने टिप्पणी गर्नुभयो । बागमती प्रदेशका सदस्य भरत केसीले केपी ओली नेतृत्वमा एमाले पार्टीले आगामी दिनमा थप अग्रगामी छलाङ् मार्दै अघि बढ्ने अठोट गर्नुभयो ।
नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश कमिटी सचिवालय सदस्य बालकृष्ण शिवाकोटी, पार्टी समन्वय कमिटीका अध्यक्ष श्याम बस्नेत, दोलखा जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धर तथा सचिव स्वयम् बहादुर खड्कालगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो।